२०८३ जेष्ठ ४, सोमबार
May 18, 2026

सिटौला राष्ट्रिय सभाको अध्यक्ष बन्ने

Banako Khabar
२०८० माघ १२ गते, शुक्रबार

२०८० माघ १२ काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । फ्लोर क्रसका कारण महिलातर्फ सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजित हुँदा अन्यतर्फ चुनाव लडेका सिटौला भने निर्वाचित भएका हुन् ।

प्रदेश सभा सदस्य र पालिकाका प्रमुख–उपप्रमुख मतदाता रहेको निर्वाचनमा सिटौला ५ हजार २९२ मतभार सहित निर्वाचित भए । उनका प्रतिस्पर्धी नेकपा एमाले समर्थित राप्रपाका उद्धव पौडेलले ४ हजार ५६२ मतभार पाएका छन् ।
कांग्रेस नेताहरुका अनुसार चुनावी परिणाम आफ्नो पक्षमा नआउने हो कि भन्ने ठूलो भय उनलाई थियो । पछिल्लो समय संस्थापन पक्षसँग मिलेर कोशीको राजनीतिमा हावी भएका कारण डा. शेखर कोइराला समूह सिटौलासँग रुष्ट थियो ।
तर १३ औं महाधिवेशनमा उनले नेतृत्व गरेको तेस्रो धारमा रहेका, तर हाल संस्थापन र शेखर–गगन समूहमा पुगेका नेताहरुले खुलेर साथ दिए । डा. शेखर कोइराला पनि सिटौलाको पक्षमा उभिए । चुनावी परिणाममा तलमाथि हुँदा अपजस आउने र त्यसले पार्टीको आन्तरिक राजनीतिमा असर गर्ने भएकाले डा. कोइरालाले सिटौलाको पक्षमा माहोल बनाए, संस्थापन पक्ष त उनको साथमा थियो । अर्थात् सिटौलाको पक्षमा कांग्रेसमा अभूतपूर्व एकता भयो ।

सत्ता गठबन्धनमा रहेका दलहरुको पनि पूर्ण साथ भएका कारण सिटौलाले चुनाव जितेका छन् ।

संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहित २० जनाको कार्यकाल २० फागुनमा सकिनेछ । गठबन्धनका नेताहरुका अनुसार तिमिल्सिनाको स्थान सिटौलाले लिन पक्का जस्तै छ ।


सिटौला आफैंले यसबारे केही बोलेका छैनन् । राष्ट्रिय सभा सदस्यको उम्मेदवार भएपछि प्रदेशका १४ वटै जिल्लामा पुगेका स्थानीय जनप्रतिनिधिससँग भेटवार्ता गरेका सिटौलालाई कतिपयले राष्ट्रिय सभा अध्यक्ष हुनुपर्छ भनेर सुझाए, कतिपयले उपप्रधानमन्त्री सहित सरकारमा पार्टीको नेतत्व गर्नुपर्ने बताएका थिए । सिटौलाले भने हो मा हो मिलाउन बाहेक केही खुलाएका छैनन् ।
सत्ता गठबन्धनका नेताहरु भने उनी राष्ट्रिय सभाको अध्यक्ष हुने तय जस्तै भएको बताउँछन् ।
सिटौलाको चाहना त राष्ट्रपति थियो । १० पुस २०७९ मा भत्किएको गठबन्धन ब्युँतिएसँगै कांग्रेसले राष्ट्रपति पाउने भयो । रामचन्द्र पौडेलसँगै कृष्ण सिटौला राष्ट्रपति बन्ने दौडमा लागे ।
प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘म निर्णय गर्ने ठाउँमा भएको भए सिटौलालाई उम्मेदवार बनाउँथे’ भनेपछि उनी निकै हौसिएका थिए । तर देउवाले वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि सिटौला रोकिए ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पनि सिटौलालाई मात्र राष्ट्रिय सभा अध्यक्षमा स्वीकार गर्ने बताएका छन् । नभए आफ्नो दलको दाबी रहने बताएका छन् ।

अहिले उनलाई राष्ट्रिय सभामा लगेर अध्यक्ष बनाउन देउवा–प्रचण्ड सबै सहमत देखिएका छन् । ‘अध्यक्ष बन्ने गरी नै उहाँलाई राष्ट्रिय सभामा लगिएको हो’, कांग्रेसका एक नेता भन्छन्, ‘त्योभन्दा फरक भूमिका हामीले कल्पना गरेका छैनौं ।’
यसमा कांग्रेसको दुवै गुटको स्वार्थ पनि छ । तेस्रो धार बनाउने प्रयास गरेका सिटौलासँग अहिले पनि आफ्नै समूह छ । राष्ट्रिय सभाको अध्यक्ष भएपछि उनले पार्टीमा गुटबन्दी नगर्ने भनेर नेताहरुलाई आश्वस्त पारेका छन् ।
त्यसो भएमा उनीसँग रहेका नेता कार्यकर्तालाई आफूतिर आउनसक्ने दुबै समूहको बुझाइ छ । ‘२० प्रतिशत त संस्थापन समूहतिर ढल्किसकेका छन्’, एक नेता भन्छन्, ‘८० प्रतिशत खुला हुन्छन् । त्यसैले यो पटक सिटौलालाई सबैले साथ दिए ।’
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पनि सिटौलालाई मात्र राष्ट्रियसभा अध्यक्षमा स्वीकार गर्ने बताएका छन् । नभए आफ्नो दलको दाबी रहने बताएका छन् ।
हुन पनि पूर्व सहमतिअनुसार प्रचण्डले सरकारको नेतृत्व छाडेपछि माओवादी केन्द्रसँग प्रमुख ५ संवैधानिक पद (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभा अध्यक्ष) हुने छैन । तर सिटौलालाई राष्ट्रियसभा अध्यक्ष बनाएर संवैधानिक परिषद्मा ल्याउँदा भोलि गठबन्धन तलमाथि भएको अवस्थामा पनि कांग्रेस सभापति देउवासँग सम्बन्ध कायम राखिराख्ने बाटो हुने प्रचण्डको बुझाइ देखिन्छ ।
स्वयं सिटौलाका लागि पनि यो सम्मानजनक बहिर्गमन हुने उनी निकट नेताहरु बताउँछन् । उमेरले ७४ वर्ष पुगेका सिटौलालाई पुनः आम निर्वाचनमा प्रतिस्पर्धा गर्ने रुची छैन, सहज पनि छैन । पार्टीमा पनि आफ्नै समूह बनाएर सक्रिय हुने भन्दा सबैसँग समन्वय गरेर अघि बढ्न चाहेको भन्दै सिटौला निकट एक नेता भन्छन्, ‘उहाँले केही माग्नु हुन्न, कुनै जिम्मेवारी दिए लिन्न भन्नुहुन्न ।’
जितभन्दा हार धेरै
कानुनमा स्नातक सिटौला २०३३ सालदेखि कांग्रेसको राजनीतिमा क्रियाशील छन् । तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाका विश्वास पात्रका रुपमा उनले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेलेका थिए ।
माओवादी अध्यक्ष प्रचण्डसँग उनको हार्दिकता उत्तिकै छ । त्यही कारण २०६२–०६३ सालको दोस्रो जनआन्दोलनपछि बनेको अन्तरिम सरकारमा उपप्रधानमन्त्री तथा गृहमन्त्रीको जिम्मेवारी पाए भने दोस्रो संविधानसभामा संविधान मस्यौदा समितिको सभापति बने ।
उनलाई संसदीय चुनाव भने उनलाई धेरै फापेको देखिन्न । २०४८ यता निरन्तर संसदीय चुनाव लड्दै आएका सिटौलाको भागमा जितभन्दा हार धेरै छ । २०४८ को चुनावमा पराजित भएका उनले एमालेका द्रोणाचार्य क्षेत्रीको निधनपछि भएको उपनिर्वाचन भने जिते । २०५१ को चुनाव हारेका उनले २०५६ मा फेरि जिते । ०६४ मा हारेका उनले २०७० मा चुनाव जितेका थिए । २०७४ र २०७९ सालमा भने राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भए ।
कांग्रेसको महामन्त्री भइसकेका उनी २०७२ फागुनको १३ औं महाधिवेशनमा सभापति पनि लडेका थिए । तर तेस्रो भएयता सभापतिलाई सहयोग गर्दै आएका छन् । पछिल्लो राजनीतिका मुख्य पात्रहरुमध्ये सिटौला एक भएको भन्दै प्रचार विभाग प्रमुख विश्वकर्मा भन्छन्, ‘शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्नुभयो । संविधान निर्माणमा भूमिका रह्यो, पार्टीमा पनि महत्वपूर्ण योगदान छ ।’

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.25
153.85
European Euro
1
178.17
178.87
UK Pound Sterling
1
204.21
205.01
Swiss Franc
1
194.71
195.48
Australian Dollar
1
109.58
110.01
Canadian Dollar
1
111.46
111.89
Singapore Dollar
1
119.66
120.13
Japanese Yen
10
9.65
9.69
Chinese Yuan
1
22.50
22.59
Saudi Arabian Riyal
1
40.84
41.00
Qatari Riyal
1
42.06
42.23
Thai Baht
1
4.69
4.71
UAE Dirham
1
41.72
41.89
Malaysian Ringgit
1
38.79
38.94
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
16.22
16.28
Danish Kroner
1
23.84
23.93
Hong Kong Dollar
1
19.57
19.65
Kuwaity Dinar
1
500.24
502.20
Bahrain Dinar
1
406.34
407.93
Omani Rial
1
398.05
399.61